काठमाडौं । बडादशैंअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। देवीको दर्शन र पूजाआराधनाका लागि देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।
वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीका नौ स्वरूपको पूजा गर्ने परम्परा छ। नवरात्रका अवसरमा दशैंघर तथा पूजा कोठामा घटस्थापना गरी जमरा राख्ने र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डाको पूजा गरिन्छ। पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने धार्मिक परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
धार्मिक मान्यताअनुसार नवरात्रमा देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य, विद्या तथा पारिवारिक सुख–शान्ति प्राप्त हुने विश्वास छ। यही विश्वासका साथ भक्तजनले देशभरका शक्तिपीठमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गरेका छन्।
नवरात्रका नौ दिनसम्म विधिपूर्वक पूजा गरिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म हर्षोल्लासका साथ बडादशैं पर्व मनाउने गर्छन्।