काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोटको प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ सिरिजको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पुरानै डिजाइनसँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा महत्वपूर्ण परिमार्जन गरिएको छ । हाल जारी गरिएको नोटको संकेत नम्बर ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्म रहेको छ ।
केन्द्रीय बैंकले नयाँ सिरिजअन्तर्गत करिब ३० लाख थान नोट बजारमा प्रवेश गरेको जनाएको छ । साथै, २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोट क्रमशः प्रतिस्थापन गरिनेछ ।
नयाँ नोटमा राष्ट्रिय पहिचान र आधुनिक सुरक्षा प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ । नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ । तल्लो भागमा २०८२ सिरिज नम्बर उल्लेख गरिएको छ ।
दृष्टिविहीन तथा कम दृष्टि भएका व्यक्तिहरूका लागि सहज पहिचान गर्न पानी छापको बायाँतर्फ दुईवटा काला थोप्ला राखिएको छ, जसलाई स्पर्श गरेर नोटको मूल्य पहिचान गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जसको रंग प्रकाशको कोणअनुसार परिवर्तन हुने विशेषता रहेको छ—सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ । ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागोसमेत प्रयोग गरिएको छ, जसले नोटको सुरक्षा थप मजबुत बनाउने विश्वास गरिएको छ ।
नोटको पछिल्लो भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटे बाघको चित्र राखिएको छ । साथै, अंग्रेजी भाषामा ‘Nepal Rastra Bank’ र ‘Five Hundred Rupees’ उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकले नयाँ नोट केवल मुद्राको साधन मात्र नभई राष्ट्रिय पहिचान, आधुनिक सुरक्षा प्रविधि र समावेशी वित्तीय पहुँचलाई सुदृढ बनाउने उद्देश्यसहित सार्वजनिक गरिएको जनाएको छ ।