काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिलाई पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।
समितिले दुर्घटनाको कारण, विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था र विद्यार्थीको सुरक्षित आवागमनबारे अध्ययन गरी सुधारका उपायसमेत सुझाउनेछ।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना भएको थियो। बसमा सवार २२ जनामध्ये पाँच जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
महानगर प्रमुख धनराज आचार्यले यस्ता दुर्घटना दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको पालना र प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका छन्।