प्रहरी हिरासतभित्र धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

22 June, 2026 53 Views
प्रहरी हिरासतभित्र धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी
53

काठमाडौँ, असार ८ गते। गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा गम्भीर मानव अधिकार उल्लंघनको आरोप लगाउँदै उजुरी दर्ता गरिएको छ। कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्यालाई लिएर भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा पक्राउ परेका आन्दोलनकारीहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार संयुक्त रूपमा आयोगको केन्द्रीय कार्यालय पुगेर उक्त उजुरी दिएका हुन्।

 उजुरीकर्ताहरूका अनुसार गत जेठ १९ गते उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको आधा घण्टापछि तत्कालीन समयमा मन्त्री पदमा नरहेका गुरुङ र उनको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरी मानसिक दबाब दिएको, गालीगलौज गरेको तथा ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ।


पीडितहरूले राज्यको जिम्मेवार तहमा रहेका व्यक्तिबाटै हिरासत जस्तो संवेदनशील स्थानमा पुगेर धम्की दिइँदा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक र यातनाविरुद्धको अधिकारको हनन भएको जिकिर गरेका छन्।

 उजुरीमा घटनाको सत्यतथ्य जाँचबुझ गर्न आयोगको विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाएर बयान लिन, जेठ १९ गतेको हिरासत क्षेत्रको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख तथा ड्युटी रजिस्टर आफ्नो नियन्त्रणमा लिन माग गरिएको छ। साथै, उनीहरूले प्रमाण नष्ट हुन नदिन र दोषीमाथि फौजदारी कसुर तथा मानव अधिकार उल्लंघनको मुद्दा चलाउन समेत आयोगसमक्ष आग्रह गरेका छन्। यस घटनाबारे सम्बन्धित सरकारी पक्ष वा गृहमन्त्री गुरुङको तर्फबाट थप आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

Related Post