प्रहरी धरपकडमा घाइते जेनजी अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो

12 July, 2026 94 Views
प्रहरी धरपकडमा घाइते जेनजी अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
94
काठमाडौँ । कीर्तिपुरमा प्रहरीको नियन्त्रण र धरपकडका क्रममा घाइते भएका जेनजी (Gen Z) अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज लगिएको छ। 
शनिबार अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवारहरूको अवस्था बुझ्न र सहयोग गर्न पुगेका अन्सारीसहितका युवाहरूलाई प्रहरीले लछारपछार पार्दै नियन्त्रणमा लिएको थियो।
पक्राउ गर्ने क्रममा भएको धक्कामुक्की र बल प्रयोगका कारण अन्सारीको टाउको, अनुहार र आँखामा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा कीर्तिपुर अस्पताल लगिए पनि त्यहाँ भिडियो एक्स-रे र प्राथमिक परीक्षण गरेपछि थप उपचारका लागि शिक्षण अस्पताल रिफर गरिएको जानकारी अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत दिएकी छिन्।
यस घटनालाई लिएर 'नेपाल जेनजी फ्रन्ट' र 'जेनजी मुभमेन्ट अलायन्स' ले आपत्ति जनाउँदै प्रहरीको बर्बरतापूर्ण व्यवहारको कडा भर्त्सना गरेका छन् र घाइते अन्सारीको तत्काल बिनासर्त रिहाइ तथा उचित उपचारको माग गरेका छन्। यता जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिने क्रममा सामान्य धक्कामुक्की हुँदा चोट लागेको र प्रहरीकै सहजीकरणमा उनको आँखा र स्वास्थ्य परीक्षण गराइएको दाबी गरिएको छ। 
अन्सारीको पक्राउ र प्रहरी दमनको विरोधमा विराटनगर लगायतका क्षेत्रमा समेत प्रदर्शन भएका छन्, जहाँ धर्ना दिने क्रममा अन्य २६ जना अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको विवरण उल्लेख छ।

Related Post