असोज, काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्।
शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए।
उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए। ‘नेपाल प्रहरीलाई साधन स्रोतले सुसजित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा छ । समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा अग्र पङ्क्तिमा रहने भएका कारण प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्र नभई सरकारप्रतिको धारणा र त्यसको प्रतिक्रियामा समेत प्रहरी निसानामा पर्ने गरेको छ,’ उनले भने।
यस्तै, नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा फागुन २१ गतेको चुनाव प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको भन्दै यसको लागि कामहरु गर्ने बताए।‘जेनजी आन्दोलनमा भएको क्षतिले प्रहरी मात्र होइन आम नागरिकहरुको जीवनमा समेत प्रभाव परेको छ । न्यून स्रोत साधनबाट कार्य गर्दै आएको प्रहरीलाई आन्दोलनले निकै ठूलो क्षति पु¥याएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन शान्ति सुरक्षामा गराउनुपर्ने दायित्व पनि प्रहरीमाथि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई प्रयाप्त स्रोत साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ,’उनले भने।
उनले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलनमा पनि नेपाल प्रहरीका तीन जना कर्मचारीले ज्यान गुमाएका थिए भने प्रहरीका सांगठनिक र निजी सामानहरु पनि लुटपाट र आगजनी भएको बताए।
नेपाल प्रहरीको निस्वार्थ सेवा र अटल समर्पण भावलाई अंगाल्दै देश र जनताको सुरक्षाको क्रममा सहादत् प्राप्त गरेका प्रहरीहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै कर्तव्य पालनको शिलशिलामा घाइते अथवा अंगभंग भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेका छन्।सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति भोग्नु परेको बताए।