पराजयपछि गुरुराज घिमिरेको सन्देश ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

12 October, 2026 138 Views
पराजयपछि गुरुराज घिमिरेको सन्देश ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’
138

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका गुरुराज घिमिरेले निर्वाचनको परिणामलाई नयाँ राजनीतिक यात्राको सुरुवातका रूपमा लिएका छन्। उनले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पार्टी रूपान्तरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

महामन्त्री पदको निर्वाचनमा १ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले उक्त मतलाई आफ्नो राजनीतिक यात्राप्रतिको विश्वास र भरोसाका रूपमा व्याख्या गरेका छन्। निर्वाचनमा अपेक्षित परिणाम नआए पनि यसले आफूलाई आगामी दिनमा अघि बढ्न थप प्रेरणा दिएको उनको भनाइ छ।

घिमिरेले महाधिवेशनबाट निर्वाचित उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। हार–जित लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै उनले निर्वाचनको परिणामबाट विचलित नभई नयाँ सोच र शैलीका साथ अघि बढ्ने बताएका छन्।

कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन पार्टीभित्र निष्ठा, विचार, संवाद र इमानदारीलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्। पार्टीको रूपान्तरणका लागि आफू निरन्तर सक्रिय रहने उल्लेख गर्दै घिमिरेले अबको राजनीतिमा फरक सोच, कार्यशैली र संस्कार आवश्यक रहेको बताएका छन्।

‘यो अन्त्य होइन, नयाँ सुरुवात हो,’ घिमिरेले भनेका छन्।

घिमिरे गत पुसमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। यसपटक पनि महामन्त्री पदमा उम्मेदवारी दिएका उनी प्रदीप पौडेल र उदयशमशेर राणासँग पराजित भएका हुन्।

Related Post