काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले भ्रमणको तयारी गरिरहेको र नेपाल तथा भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने जनाएको हो ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणको तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार भ्रमणको मिति भने अहिलेसम्म निश्चित भएको छैन । दुवै पक्षलाई अनुकूल हुने समय तय भएपछि भ्रमणको मिति सार्वजनिक गरिने उनले बताए ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘भ्रमणको मिति तय भइरहेको छैन । मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ ।’
यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तय गर्ने काम भइरहेको जनाएको थियो ।
प्रवक्ता क्षेत्रीले भारत भ्रमणबाहेक अन्य उच्चस्तरीय भ्रमणको तयारी र त्यसका एजेन्डामाथि पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।