काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी भइरहेको बताएका छन्। तर भ्रमणको मिति भने अहिलेसम्म तय भइनसकेको उनको भनाइ छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आएको बताए।
उनका अनुसार उपयुक्त समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ। भ्रमणलाई सकेसम्म फलदायी र परिणाममुखी बनाउने गरी तयारी भइरहेको पनि उनले बताए।
मन्त्री खनालले भ्रमणको मिति कहिले तय हुन्छ भन्ने अहिले नै भन्न नसकिने स्पष्ट पारे।