प्रधानमन्त्री बालेनलाई गाली गरेको आरोप लागेका युट्युबर रोशन पुर्पक्षका लागि जेल चलान

07 July, 2026 67 Views
प्रधानमन्त्री बालेनलाई गाली गरेको आरोप लागेका युट्युबर रोशन पुर्पक्षका लागि जेल चलान
67
युट्युब र विभिन्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र उनको परिवारविरुद्ध अपमानजनक एवं गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरका रोशन पोखरेल पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले सरकारी वकिल कार्यालयद्वारा दायर गरिएको विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गतको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै पोखरेललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटे घर भएका पोखरेलले 'हदेस जङ्गल' नामक युट्युब च्यानल, फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता डिजिटल माध्यमहरूको दुरुपयोग गरी प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच आउने अमर्यादित शब्दहरू प्रयोग गरी भिडियो एवं स्टाटस पोस्ट गरेको अभियोगपत्रमा उल्लेख छ।
यसअघि नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। सार्वजनिक जीवनमा रहेका व्यक्तिमाथि टिप्पणी गरेको आधारमा पक्राउ गरिएको भन्दै देशभर नागरिकस्तर र सामाजिक सञ्जालमा व्यापक विरोध तथा आलोचना भएपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएर छाडेको थियो। 
अभियुक्तलाई आफन्तको जिम्मा लगाइए पनि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले यो नयाँ आदेश जारी गर्दै उनलाई न्यायिक हिरासतमा पठाएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिएका छन्।

Related Post