76
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको सास्ती र पीडाप्रति संवेदनशील बन्न आग्रह गर्दै विगतमा उनकै चर्चित र्याप गीतको हरफ स्मरण गराएर ‘अब गरिबको चमेली बोलिदिने कोही छ भन्नुपर्यो’ भनी कडा सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उपसभापति शर्माले मुलुकमा बढ्दै गएको चरम जननिराशा र नागरिकको हृदयविदारक अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
उनले प्रधानमन्त्री शाहलाई राजकीय पदमा पुग्नुअघिको आफ्नो जनपक्षीय र ‘कोमल हृदय’ सम्झिन आग्रह गर्दै, संकट र निराशामा डुबेका जनता, युवा तथा सुकुम्वासीहरूका अगाडि उभिएर ‘सरकार छ’ भन्ने बलियो विश्वास दिलाउन चुनौती दिएका छन्।
शर्माले विगतमा व्यवसायी प्रेम आचार्य र हालै काठमाडौँमा मुगुका युवा गणेश नेपालीले गरेको आत्मदाहको दुःखद घटनाका साथै कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी र भोकले तड्पिरहेका सुकुम्वासी बालबालिका तथा वृद्धवृद्धाहरूको कारुणिक अवस्थाको विशेष चर्चा गरेका छन्।
उनले यो विषय कुनै सत्ता र विपक्षको परम्परागत राजनीतिक मुद्दा नभई समाजमा निभ्दै गएको आशा र भरोसा जगाउने मानवीय प्रश्न भएको स्पष्ट पार्दै, सरकारले लिने सकारात्मक कदमहरूमा कांग्रेस विनापूर्वाग्रह सहकार्य गर्न र साथ दिन तयार रहेको प्रस्तावसमेत राखेका छन्।