72
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ। दोस्रोपटक थपिएको ३ दिनको म्याद सकिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेललाई विशेष अदालतमा पेस गरेको थियो।
अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले विभागको अनुरोध बमोजिम तेस्रोपटक ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। यसअघि उनलाई असार ९ गते पहिलोपटक ७ दिन र असार १५ गते दोस्रोपटक ३ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो।
गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेल हाल ललितपुरको सानेपास्थित हिरासतमा रहेका छन्। विभागका अनुसार विवादास्पद व्यवसायी दीपक भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी रहेको 'श्रीराम टोबाको प्रालि' को २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्टलाई सस्तो मूल्यमा बेच्न दबाब दिएर अनुचित लाभ लिएको र शंकास्पद सेयर तथा सम्पत्ति कारोबार गरेको आरोप पौडेलमाथि छ।
अर्कोतर्फ, पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ प्रक्रिया जारी रहेको छ।