पेटभित्र सुनका क्याप्सुल लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ

21 August, 2026 65 Views
पेटभित्र सुनका क्याप्सुल लुकाएर ल्याउने बंगलादेशी नागरिक पक्राउ
65

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र करिब १५० ग्राम सुनजस्तो देखिने पहेंलो धातुका दुईवटा क्याप्सुल लुकाएर ल्याएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार पक्राउ परेका छन्। दुबईबाट काठमाडौं आएका उनलाई शंका लागेर प्रहरीले नियन्त्रणमा लिएपछि एक्स–रे गर्दा पेटभित्र धातु देखिएको थियो। पाँच दिन अस्पतालमा राखिएपछि शुक्रबार शौच गर्ने क्रममा उनको पेटबाट क्याप्सुल आकारका दुईवटा धातु बरामद भएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार हल्दार फ्लाइ दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए। विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर उनलाई नियन्त्रणमा लिएका थिए।

सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन क्याप्सुल बनाएर निलेको स्वीकार गरेपछि उनलाई परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल लगिएको थियो। अस्पतालमा गरिएको एक्स–रेमा उनको पेटभित्र शंकास्पद धातु देखिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँच दिन अस्पतालमै भर्ना गरेर राखिएको थियो।

शुक्रबार शौच गर्ने क्रममा उनको पेटबाट क्याप्सुल आकारका दुईवटा पहेंलो धातु निकालिएको हो। बरामद धातुको तौल करिब १५० ग्राम रहेको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार हल्दारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

 

Related Post