रोहित पौडेल: धेरै डट बल खेल्दा नामिबियाविरुद्ध जित गुमायौं

28 July, 2026 55 Views
रोहित पौडेल: धेरै डट बल खेल्दा नामिबियाविरुद्ध जित गुमायौं
55

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको खराब प्रदर्शन जारी रहेको छ। सोमबार भएको खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएपछि लगातार तेस्रो हार बेहोरेको छ।

२१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्रै बनाउन सक्यो। अन्तिम बलमा जितका लागि छक्का आवश्यक रहे पनि गुल्सन झाले एक रन मात्र जोड्न सकेपछि नेपाल जितबाट ३ रनले पछि परेको हो।

खेलपछि कप्तान रोहित पौडेलले टोली जितको निकै नजिक पुगे पनि धेरै डट बल खेल्नु हारको मुख्य कारण बनेको बताए। उनका अनुसार बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नामिबियालाई २११ रनमा सीमित राखेका थिए। करण केसीले कसिलो बलिङ गरे भने स्पिनरहरूले पनि राम्रो साथ दिएका थिए।

रोहितले लक्ष्य पछ्याउने क्रममा सुरुआत राम्रो भए पनि मध्य ओभरमा टोलीले लय गुमाएको बताए। विशेषगरी इसान पाण्डे आउट भएपछि इनिङ्स दबाबमा पुगेको र आफू तथा दीपेन्द्रसिंह ऐरीबीच भएको रनआउट खेलको निर्णायक मोड बनेको उनको भनाइ थियो।

उनले भने, सुरुआती ओभरमा धेरै डट बल खेल्दा अन्तिम ४–५ ओभरमा आवश्यक रनरेट निकै बढेको र त्यसले टोलीलाई दबाबमा पारेको बताए। उनका अनुसार अन्तिम ओभरहरूमा प्रतिओभर १०–१२ रन बनाउनु सहज नहुने भएकाले सुरुआतमै स्ट्राइक रोटेट गर्न नसक्नु महँगो परेको हो।

रोहितले नेदरल्यान्ड्स भ्रमणभर नेपालको ब्याटिङ अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै अन्तिम खेलमा त्यसमा सुधार गर्ने विश्वास व्यक्त गरे। उनले पिचमा राम्रो बाउन्स रहेकाले विकेटको दायाँ–बायाँ सट खेल्दै डट बलको संख्या घटाउनुपर्नेमा जोड दिए।

लगातार तेस्रो हारसँगै नेपालको ३१ खेलबाट २४ अंक रहेको छ र टोली अंक तालिकाको छैटौं स्थानमा झरेको छ। नामिबिया २६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। नेपालले अब सिरिजको अन्तिम खेल बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ।

Related Post