कात्तिक, काठमाडौं । राहदानी विभागमा देखिएको चरम अव्यवस्था र लापरबाहीले सीमा नाघेको छ । दैनिक रूपमा पासपोर्ट बनाउन आउने हजारौं सर्वसाधारण नागरिकहरु भीडभाडमा बिभिन्न किसिमका सास्ती खेपिरहेका छन् । विभाग परिसरमा हरेक दिन अत्यधिक भिडभाड हुने गरेको छ । भीडका कारण धेरैजना नागरिकहरू घाममा उभिएर घण्टौँसम्म प्रतिक्षा गर्न बाध्य छन् । महिलादेखि वृद्धवृद्धा, विद्यार्थीदेखि विदेश जान तयारी गरिरहेका युवासम्म सबैजना सास्ती खेपिरहेका छन् । कतिपयलाई बस्ने ठाउँ समेत नपाएर बाटोछेउमै बस्नुपर्ने अवस्था देखिन्छ । तर, यति गम्भीर समस्या हुँदा पनि सरकारले कुनै ध्यान नदिएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् ।
विभागमा न त टोकन प्रणालीको उचित व्यवस्था छ, न त नागरिकका लागि बस्ने वा प्रतिक्षा गर्ने सुविधा नै । बिहानैदेखि लाइनमा उभिएका मानिसहरू घण्टौँसम्म आफ्नो पालो पर्खिरहेका छन् । कतिपय वृद्धवृद्धा, महिला र विद्यार्थीहरूलाई बस्ने ठाउँसम्म नपाएर बाटोछेउमा थकित मुद्रामा बस्न बाध्य छन् । सरकारी कार्यालयकै यस्तो दुर्व्यवस्था अहिले जनचासोको मुख्य विषय बनेको छ ।
नागरिकहरू भन्छन् — “राहदानी विभागमा पुग्दा नागरिक होइन, बिनाअधिकारको भीडजस्तो व्यवहार गरिन्छ ।” यतिबेला विभागको लापरबाहीले हजारौं सर्वसाधारणको समय, श्रम र सम्मान दुबै लुटिरहेको छ ।
अझ विडम्बनापूर्ण कुरा त के भने, परिवर्तन र सुधारको नाममा आएको जेन्जी सरकार समेत यस विषयमा पूर्णरूपमा मौन छ । नागरिकमैत्री शासनको दाबी गर्ने यो सरकारले राहदानी विभागजस्तो महत्वपूर्ण संस्थामा पनि सुधार गर्न नसक्नु जनताको विश्वासमाथिको ठुलो प्रहारका रूपमा हेरिएको छ ।
राहदानी विभागमा देखिएको यस्तो लापरबाही र अव्यवस्थाले देशको प्रशासनिक क्षमता र जिम्मेवारीप्रति ठुलो प्रश्न खडा गरेको छ । नागरिकको दैनिक पीडा प्रत्यक्ष देख्दादेख्दै पनि सरकार बेवास्ता गरिरहेको अवस्थामा, जनतामा अहिले गहिरो असन्तोष छाएको छ ।