काठमाडौं । गैर सरकारी संस्था महासंगको आयोजनामा कर्की आयोगको प्रतिवेदन तथा नेपाल सरकारद्वारा प्रस्तुत १०० बुँदे सुशासन सुधार एजेन्डा सम्बन्धी नागरिक सरोकार विषयक अन्तरसंवाद कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा देशभरका विभिन्न नागरिक समाजका प्रतिनिधिहरू, नेपाल सरकार राष्ट्रिय युवा परिषद्का वोर्ड सदस्य ज्यु, युवा अगुवाहरू, नीति विश्लेषक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले कर्की आयोगको प्रतिवेदनले औंल्याएका प्रमुख समस्याहरू तथा सुधारका उपायहरूबारे गहन छलफल गरेका थिए।
वक्ताहरूले सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्न प्रतिवेदनका सिफारिसहरूलाई व्यवहारमा उतार्नु अत्यावश्यक रहेको बताएका थिए। साथै, नेपाल सरकारद्वारा अघि सारिएको १०० बुँदे सुधार एजेन्डाले प्रशासनिक सुधार, सेवा प्रवाहमा सहजता र संस्थागत मजबुतीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा राखिएको थियो।
कार्यक्रममा विशेष गरी युवाहरूको सक्रिय सहभागिता देखिएको थियो। सहभागी युवाहरूले नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, डिजिटल सुशासनलाई प्राथमिकता दिनुपर्ने र राज्यका निकायहरूलाई थप उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, नागरिक समाजका प्रतिनिधिहरूले सरकार र नागरिकबीचको विश्वास अभिवृद्धि गर्न यस्ता संवाद कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले सुशासनका लागि केवल नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन र अनुगमन प्रणाली पनि सुदृढ हुनुपर्ने बताएका थिए।
आयोजकका अनुसार, यस प्रकारका अन्तरसंवाद कार्यक्रमहरूले नीति निर्माण प्रक्रियामा नागरिकको आवाज समेट्न सहयोग पुर्याउने, सरोकारवालाबीच सहकार्य अभिवृद्धि गर्ने तथा लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।