रुपन्देहीमा भन्सार छलीको ३५ थान आइफोनसहित भारतीय मोटरसाइकल बरामद, एक जना पक्राउ

30 June, 2026 55 Views
रुपन्देहीमा भन्सार छलीको ३५ थान आइफोनसहित भारतीय मोटरसाइकल बरामद, एक जना पक्राउ
55
रुपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार रुपैयाँ बराबरको ३५ थान आइफोन र एउटा मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (DSP) कृष्णकुमार चन्दका अनुसार इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको विशेष चेकिङ टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनीनगरमा यो सफलता पाएको हो।
 नेपालतर्फ आउँदै गरेको युपी ५३ डिएक्स ८८३८ (UP 53 DX 8838) नम्बरको भारतीय मोटरसाइकललाई संकास्पद रूपमा फेला पारी चेकजाँच गर्दा लुकाइछिपाइ ल्याइएका एप्पल कम्पनीका विभिन्न महँगा मोडलका ३५ थान आइफोन फेला परेका थिए। प्रहरीले अवैध सामान ओसारपसारमा संलग्न मोटरसाइकल चालक रुपन्देहीकै कोटहीमाई गाउँपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय पवन कुमार मुरावलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बरामद गरिएका आइफोनहरूको अनुमानित बजार मूल्य मात्रै १९ लाख ७० हजार रुपैयाँ रहेको छ भने तस्करीमा प्रयोग गरिएको भारतीय मोटरसाइकलको मूल्य करिब ८० हजार रुपैयाँ मूल्यांकन गरिएको छ। 
भन्सार छली र अवैध ओसारपसारको यो ठूलो परिमाणलाई थप कानुनी कारबाही, अनुसन्धान तथा भन्सार प्रक्रियाका लागि प्रहरीले बरामद गरिएका सबै आइफोन र मोटरसाइकलसहित पक्राउ परेका चालक मुरावलाई भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाएको छ। सीमा क्षेत्रमा हुने यस्ता भन्सार छली तथा अवैध तस्करी नियन्त्रणका लागि रुपन्देही प्रहरीले हाल आफ्नो क्षेत्रमा कडा गस्ती र निगरानी बढाउँदै आएको छ।

Related Post