काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पाठकले आफू पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको जानकारी दिएका हुन्।
पार्टीलाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग, समुदाय तथा भूगोलका जनताले भरोसा गर्न सक्ने दल बनाउने उद्देश्यसहित करिब चार वर्षअघि आफूले महामन्त्रीको जिम्मेवारी सम्हालेको पाठकले बताएका छन्।
तर, राप्रपासँगको एकताको आधारअनुसार अपेक्षित रूपमा ठोस र परिणाममुखी काम हुन नसकेको भन्दै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। पार्टीको विचारधारा र व्यवहारबीच ठूलो विरोधाभास रहेको तथा पारदर्शिता र व्यवहारिक प्रतिबद्धताको अभाव देखिएको उनको आरोप छ।
पाठकले राप्रपाभित्र आन्तरिक बेमेल र गुटगत स्वार्थको संघर्ष बढ्दै गएको समेत बताएका छन्। यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीप्रति आकर्षित गर्न कठिन भएको उनको भनाइ छ। पाठक पूर्व नेता रवीन्द्र मिश्रसँगै राप्रपामा आबद्ध भएका थिए।