काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विनाशकारी बाढी जलवायु परिवर्तनसँग सम्बन्धित रहेको भन्दै हिमालय क्षेत्रमा बढ्दो विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको र यस्ता विपद्को सामना गर्नु विश्वकै साझा जिम्मेवारी भएको बताएका हुन्।
प्रधानमन्त्री शाहले रसुवा बाढीको घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिमलाई उजागर गरेको बताए।
उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोग्नुपरेका विपद्का घटनालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गम्भीर रूपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए।
‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा भने, ‘हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ। त्यसैले यो विपद्का विषयमा हामीले अन्तर्राष्ट्रिय समुदायलाई भन्नुपर्छ। यो विश्वको साझा जिम्मेवारी हो।’
प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम नेपालमा मात्र सीमित नरहेको संकेत गर्दै यसको प्रभाव र न्यूनीकरणका विषयमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
रसुवामा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको सन्दर्भमा प्रधानमन्त्री शाहको यस्तो भनाइ आएको हो। उनले विपद्को घटनालाई जलवायु परिवर्तनका व्यापक प्रभावसँग जोडेर अन्तर्राष्ट्रिय तहमा नेपालको आवाज बलियो रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्।