काठमाडौँ । बाढी प्रभावित रसुवाको गोसाईंकुण्ड गाउँपालिका–लिङलिङमा झाडापखालाका बिरामी देखिन थालेका छन्। बाढीपछि दूषित पानी र सरसफाइको समस्याका कारण झाडापखाला तथा हैजाजस्ता रोग फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा लिङलिङ पुगेर स्थानीयको उपचारमा खटिएको छ। उपचारका क्रममा झाडापखालाका दुई–चार जना बिरामी भेटिएको उपचारमा संलग्न डा. सरोजकुमार गोहिवारले जानकारी दिएका छन्।
प्राकृतिक विपत्तिका कारण स्थानीयमा डर, त्रास र मानसिक तनावसमेत देखिएको चिकित्सकहरूले बताएका छन्। विशेषगरी ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् मानसिक आघातसम्बन्धी समस्या देखिन थालेको छ।
यस्तै, नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप र मधुमेहका बिरामीलाई औषधिको अभाव देखिएको छ। खाद्यान्न तथा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको चिकित्सक टोलीले जनाएको छ।
दूषित पानीबाट रोगको संक्रमण फैलिन सक्ने भएकाले स्थानीयलाई सुरक्षित पानी प्रयोग, सरसफाइ र स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।