‘अब पर्खने समय छैन’ भन्दै विद्युत् प्राधिकरणका कर्मचारीले प्रधानमन्त्रीलाई पठाए पत्र

31 August, 2026 65 Views
‘अब पर्खने समय छैन’ भन्दै विद्युत् प्राधिकरणका कर्मचारीले प्रधानमन्त्रीलाई पठाए पत्र
65

काठमाडौं । रसुवा बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धारमा ढिलाइ भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका केही कर्मचारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेखेका छन्।

आफ्नो परिचय गोप्य राख्दै लेखिएको पत्रमा उद्धारमा थप ढिलाइ नगर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई तत्काल परिचालन गर्न र प्रभावित सबै स्थानमा सम्भव भएसम्म एकैसाथ उद्धार अघि बढाउन माग गरिएको छ।

पत्रमा सुरुङभित्र रहेका व्यक्तिको जीवन बचाउन हरेक मिनेट महत्वपूर्ण रहेको भन्दै प्रशासनिक प्रक्रिया र औपचारिकताभन्दा अहिले मानव जीवन बचाउनुलाई प्राथमिकता दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको छ।

रसुवा बाढीबाट नेपाल विद्युत् प्राधिकरणसहित विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। आयोजनामा कार्यरत धेरै कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्।

नेपाली सेनाले चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालेको जनाइएको छ। रसुवागढी आयोजनाको सुरुङमा समेत उद्धार टोली प्रवेश गरेको थियो। तर अन्य प्रभावित आयोजनामा रहेका व्यक्तिको अवस्था अझै स्पष्ट हुन सकेको छैन।

प्राधिकरणबाहेक माथिल्लो त्रिशूली–१, लाङटाङ, मैलुङ खोला, रसुवाभोटेकोशी र मिडल त्रिशूली लगायतका आयोजनामा कार्यरत व्यक्तिहरू पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

सम्पर्कविहीनका परिवारले भने आफ्ना आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र खोज तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गर्दै आएका छन्।

Related Post