रास्वपा महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किए

24 June, 2026 55 Views
रास्वपा महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किए
55
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन नसकिँदै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह बुधबार बिहान काठमाडौँ फर्किएका छन्। गत आइतबार महाधिवेशनको भव्य उद्घाटन गर्न श्रीमती सबिना काफ्ले र छोरीसहित चितवन पुगेका प्रधानमन्त्री शाह बुधबार बिहान ११:०० बजे बुद्ध एयरको उडानमार्फत आफ्नो टिमसहित राजधानी फर्किएका हुन्।
 महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय सदस्य पदको मतदान प्रक्रिया सुरु हुने तयारी भइरहँदा प्रधानमन्त्री शाह भने मतदान प्रक्रियामा सहभागी नभई बीचमै काठमाडौँ फर्किएका हुन्। उनीसँगै प्रमुख सल्लाहकार कुमार बेन लगायतको सचिवालय टोली पनि फर्किएको छ। 
चितवन बसाइका क्रममा भरतपुरको लटौली सेन्चुरी रिसोर्टमा बसेका प्रधानमन्त्री शाहले मंगलबारको बन्द सत्रमा पार्टी सभापति पदका लागि रवि लामिछानेको उम्मेदवारीमा प्रस्तावक बनेर समर्थन जनाएका थिए, जसका कारण लामिछाने सर्वसम्मत अध्यक्ष निर्वाचित भइसकेका छन्। रास्वपाको वैधानिक व्यवस्था अनुसार शाह स्वतः वरिष्ठ नेतामा कायम रहने भएकाले उनी आफैँ भने कुनै पनि पदको चुनावी प्रतिस्पर्धामा उठ्नु परेन
 चितवनमा रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण समेत गरेका थिए। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परिवारको तस्बिर सेयर गर्दै उनले "चितवन भ्रमण गरौँ, न्यानो ठाउँ" भनी लेखेका थिए, जसलगत्तै उनी महत्त्वपूर्ण प्रशासनिक कार्यका लागि काठमाडौँ फर्किएका हुन्।

Related Post