काठमाडौँ, जेठ २१
नेपालमा नयाँ निर्वाचन सम्पन्न भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै दुई देशबीचको कूटनीतिक संवादले नयाँ मोड लिएको छ। पाँच दिने औपचारिक भारत भ्रमणको सिलसिलामा नयाँ दिल्लीमा रहनुभएका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत खुसी व्यक्त गर्दै नेपाली भाषामै सन्देश जारी गर्नुभएको छ। प्रधानमन्त्री मोदीले भन्नुभएको छ, "राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा म अत्यन्तै खुसी छु। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण सहमति छ।"
मोदीले भारतको 'छिमेकी पहिलो' नीतिअन्तर्गत नेपाल सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन भारत उत्सुक रहेको स्पष्ट पार्नुभएको छ।
भेटपछि प्रतिक्रिया दिँदै रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री मोदीसँगको छलफल अत्यन्तै सकारात्मक र रचनात्मक भएको बताउनुभएको छ। उहाँले नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै 'विकास कूटनीतिको नयाँ युग' अँगाल्नुपर्ने कुरामा जोड दिनुभएको छ।
लामिछानेका अनुसार वार्तामा साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र निर्बाध कनेक्टिभिटीमार्फत पारस्परिक विश्वासमा आधारित बलियो साझेदारी निर्माण गर्ने विषयमा छलफल भएको थियो। रास्वपाले नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई व्यवहारमा उतार्न तयार रहेको प्रतिबद्धता जनाएको छ।
भ्रमण दलमा सहभागी रास्वपा सांसद दीपक बोहराका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपालको जलविद्युत्, विमानस्थल सञ्चालन र सीमा व्यवस्थापन जस्ता पुराना तथा अधुरा आयोजनाहरूलाई निश्चित समयसीमा बनाएर टुङ्ग्याउनुपर्ने धारणा राख्नुभएको छ। मोदीले यसका लागि नेपाल पक्षसँग ठोस छलफल गर्नुपर्ने विषयहरूको सूची समेत माग गर्नुभएको छ। यस उच्चस्तरीय संवाद लगत्तै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको समेत भारत भ्रमण हुने तय भएको छ।
हैदराबाद हाउसमा भएको उक्त महत्त्वपूर्ण वार्तामा भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार (NSA) अजित डोभाल र विदेश सचिव विक्रम मिस्री लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाली प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपा सांसदहरू विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो।
यसअघि नेपालमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएसँगै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत बधाई दिँदै दुवै नेतालाई भारत भ्रमणको निम्तो दिनुभएको थियो। सोही कूटनीतिक पहललाई अगाडि बढाउन भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार दिल्ली प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरिसक्नुभएको छ। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।