69
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच आइतबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा करिब चार घण्टा लामो महत्त्वपूर्ण भेटवार्ता भएको छ।
बिहान सवा ११ बजे सुरु भई दिउँसो सवा ३ बजेसम्म चलेको उक्त वार्तामा देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारको सय दिनको समीक्षा, सम्भावित मन्त्रिमण्डल हेरफेर र छिमेकी मुलुकहरूसँगको सम्बन्धका विषयमा समीक्षा भएको छ।
चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनपछि मनोनयन गर्न बाँकी रहेका वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको नियुक्तिलाई पूर्णता दिने तथा पार्टीको संशोधित विधानका केही व्यवस्थाप्रति देखिएको आन्तरिक मतभेदका विषयमा समेत दुई नेताबिच विस्तृत संवाद भएको विवरण आएको छ।
भेटघाटका क्रममा पछिल्लो समय मुलुकमा बढ्दै गएको जननिराशा र विशेषगरी कीर्तिपुरस्थित होल्डिङ सेन्टरको डुबान तथा मुगुका गणेश नेपालीको आत्मदाहको घटनाका कारण सिर्जित परिस्थितिबारे गम्भीर छलफल भएको छ ।
सो अवसरमा सभापति लामिछानेले काठमाडौँका विभिन्न खोलाकिनारबाट विस्थापित भएका भूमिहीन सुकुम्वासीहरूको व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउँदै तत्काल उचित पुनर्बास र दीर्घकालीन व्यवस्था गरी सरकार अघि बढ्नुपर्ने र सरकारको कार्यशैली थप संवेदनशील हुनुपर्ने कडा सुझाव प्रधानमन्त्री शाहलाई दिएका छन्।