भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दै छन्। भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्रीको सरकारी निवासमा दुई नेताबीच भेटवार्ता हुने तय भएको हो।
भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा सोमबार (१ जेठ) नयाँ दिल्ली पुगेका लामिछानेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध र दलहरूबीचको आपसी सहकार्यका दृष्टिकोणले निकै चासोका साथ हेरिएको छ।
यसअघि भ्रमणको दोस्रो दिन मंगलबार सभापति लामिछानेलाई नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा 'रेड कार्पेट' सहित भव्य स्वागत गरिएको थियो। सो क्रममा उनले भाजपाका राष्ट्रिय नेता नितिन नवीन, महासचिव अरुण सिंह, र विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले लगायतका शीर्ष नेतृत्वसँग द्विपक्षीय भेटघाट गर्नुभएको हो।
त्यस्तै, लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरिसक्नुभएको छ।
कुन-कुन विषयमा भयो छलफल?
रास्वपा सचिवालयका अनुसार यी उच्चस्तरीय भेटवार्ताहरूमा मुख्य गरी निम्नलिखित विषयहरूमा केन्द्रित रहेर विचार-विमर्श भएको छ:
- नेपाल-भारत सम्बन्ध र आपसी हित: दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ बनाउने।
- सुरक्षा सहकार्य र लोकतान्त्रिक अभ्यास: क्षेत्रीय सुरक्षाका चुनौतीहरू र लोकतान्त्रिक मूल्य-मान्यता सुदृढीकरणका लागि साझा संवाद।
- राजनीतिक संवाद: नेपाल र भारतका राजनीतिक दलहरूबीच संस्थागत संवाद, सांगठनिक अनुभव आदानप्रदान र सहकार्यको नयाँ आयाम पहिल्याउने।
नेपाल-भारत सम्बन्धमा देखा परेका पछिल्ला उतारचढावका बीच नयाँ सरकारको परराष्ट्र नीति र आपसी प्राथमिकता बुझ्न यो भ्रमणले भूमिका खेल्ने विश्वास गरिएको छ। भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सह-महामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्। रास्वपाको यो टोली यही जेठ २२ गते (शुक्रबार) स्वदेश फर्किने कार्यतालिका रहेको छ।