राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘आरएसपी पल्स’ एप अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलका क्रममा लामिछानेले मन्त्रीहरूलाई २४ घण्टाभित्र एप डाउनलोड गरी आफ्ना गतिविधि नियमित रूपमा अपडेट गर्न निर्देशन दिएका हुन्।
रास्वपाका अनुसार पार्टीका सांसद, मन्त्री र जनताबीच पारदर्शिता, जवाफदेहिता र सूचनाको पहुँच सहज बनाउन डिजिटल प्लेटफर्मको प्रयोग अनिवार्य गरिएको हो।
यसअघि रास्वपाले आफ्ना सांसदहरूको गतिविधि अभिलेख तथा अनुगमन गर्न ‘आरएसपी पल्स’ सञ्चालनमा ल्याएको थियो। अब उक्त प्रणालीमा मन्त्रीहरूलाई समेत अनिवार्य रूपमा जोडिएको छ।
मन्त्रीहरूले संसदमा आफूले उठाएका विषय, सरकारी भ्रमण, विभिन्न भेटघाट तथा अन्य सार्वजनिक गतिविधिको विवरण एपमार्फत नियमित रूपमा अद्यावधिक गर्नुपर्नेछ।