असोज, काठमाडौं । अधिवक्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता यज्ञमणि न्यौपानेले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् । उनले अहिलेको परिवर्तित अवस्थामा देशलाई निकास दिन र जेन–जी विद्रोहलाई संस्थागत गर्नका लागि रास्वपा पुनर्गठित हुनुपर्ने बताएका हुन् । उनले रास्वपाको अध्यक्ष कुलमान घिसिङलाई बनाउनेबारे छलफल र प्रस्ताव आएको स्वीकार गरे ।
‘तपाईँको पार्टीमा नेतृत्व परिवर्तनको कुरा आएको छ । तपाईँहरुले कुलमान घिसिङलाई अध्यक्ष बनाउने कुरा सत्य हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘सत्य यही हो भन्ने कुरा त होइन । छलफल र प्रस्ताव आएको विषय हो । तर, अहिलेको परिवर्तित अवस्थामा समग्र देशलाई निकास दिनका लागि र जेन–जी युवाहरुको जुन विद्रोह थियो, त्यसलाई संस्थागत गर्नका लागि विकल्पमा रहेको राजनीतिक दलहरुले पुनर्संरचित भएर देशलाई निकास दिनु आजको आवश्यकता हो । सोतर्फ छलफल सुरु भएको हो,’– उनले भने ।
निर्वाचनको सुनिश्चिता गरिसकेपछि कुलमानले मन्त्री पदबाट राजीनामा दिएर रास्वपामा आउनुपर्छ भन्नेसम्मको विषयमा आफूहरु छलफलमा रहेको उनले बताए । मन्त्रीकै रुपमा भने कुलमानले पार्टीको नेतृत्व गर्दा अन्तरिम सकरारको मर्म र भावनामा मेल नखाने उनको भनाइ छ । नेता न्यौपानेले जेन–जी युवाहरुको सोच र आत्मालाई ठेस नपुग्नेगरी यो देशलाई संस्थागत रुपमा अगाडि बढाउन आफूहरुले छलफल सुरु गरेको उनले बताए ।