राष्ट्रिय सभा बैठक भदौ ९ गतेसम्मका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्ने गरी स्थगित भएको छ। शुक्रबार बसेको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भदौ ९ गते बस्ने जानकारी गराउँदै बैठक स्थगित गरेका हुन्।
शुक्रबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ राष्ट्रिय सभामा प्रस्तुत गरेकी थिइन्।
विधेयकमाथि सभामा छलफल भएको थियो। छलफलपछि विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ।
प्रस्ताव स्वीकृत भएसँगै राष्ट्रिय सभा सदस्यहरूलाई विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय उपलब्ध भएको छ। अब निर्धारित प्रक्रियाअनुसार विधेयकमाथि संशोधन तथा थप छलफल अघि बढाइनेछ।
सभाका अध्यक्ष दाहालले बैठक भदौ ९ गते बस्ने जानकारी गराएसँगै शुक्रबारको कार्यसूची सम्पन्न भएको हो।