दमक, झापा ।
झापाको गौरादह र दमकको सिमानामा पर्ने रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त शव दमक नगरपालिका–८, बसन्त टोल निवासी २१ वर्षीया रमा तिवारीको रहेको पुष्टि भएको हो।
मृतकका पिता नारायण तिवारी र आमा मुना तिवारीले इलाका प्रहरी कार्यालय दमकमा पुगेर शवको सनाखत गरेका हुन्। पारिवारिक स्रोतका अनुसार रमा गत जेठ १३ गते राति करिब ९:३० बजे अचानक घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो।
शव भेटिएको प्रकृति र प्रारम्भिक जाँचका क्रममा रमाको क्रुरतापूर्वक हत्या भएको सङ्केत मिलेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार मृतकको घाँटीमा डोरी वा पाइप जस्तो वस्तुले कसिएको स्पष्ट देखिएको छ।
अपराधीले अन्य कुनै स्थानमा रमाको हत्या गरेर प्रमाण नष्ट गर्ने नियतका साथ शवलाई सेतो प्लास्टिकको बोरामा बाँधी पुलमाथिबाट खोलामा खसालेको प्रहरीको प्रारम्भिक अनुमान छ। खोलाको पानीमा २-३ दिनसम्म रहेका कारण शव सडेको र ढाडिएको अवस्थामा फेला परेको थियो।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले मृतक रमाको मोबाइल फोनको कल डिटेल्स (CDR) र लोकेसन ट्र्याक गरिरहेको छ। जेठ १३ गते राति घरबाट निस्किनुअघि उनलाई कसको फोन आएको थियो र उनी कसलाई भेट्न गएकी थिइन् भन्नेबारे प्रहरीले कसिलो प्रमाण भेटाएको बुझिएको छ।
झापा प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। "हामीले घटनाको बलियो क्लु फेला पारिसकेका छौँ, अपराधीको पहिचान भइसकेको छ र टोली पक्राउ गर्ने एकदमै नजिक पुगेको छ," अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकारीले बताए।
शवको विस्तृत अवस्था, हत्याको समय र कारणबारे थप प्रष्ट हुनका लागि शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टमको विस्तृत रिपोर्ट आएपछि घटनाबारे थप तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।