रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ घाइते

11 October, 2026 209 Views
रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ घाइते
209

 

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।

साउदी नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार मृतकमध्ये चार जना साउदी नागरिक, दुई जना बंगलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

आक्रमणपछि विमानस्थल बन्द गरिएको थियो भने रियादमा अवतरण गर्न लागेका विमानलाई अन्यत्र मोडिएको थियो। घाइतेलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको अधिकारीहरूले बताएका छन्।

इरान समर्थित हुथी विद्रोहीले यसअघि पनि विमानस्थलमा दुई पटक आक्रमण गरेको बताइएको छ। ती घटनामा चार जनाको मृत्यु भएको थियो। तर शनिबारको आक्रमणको जिम्मेवारी हुथीले लिइसकेका छैनन्।

घटनापछि साउदी नेतृत्वको सैन्य गठबन्धनले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्धको सम्भावित कारबाहीमा अमेरिका सहभागी हुन सक्ने बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निन्दा गरेका छन्। गुटेरेसले सर्वसाधारण तथा नागरिक पूर्वाधारमाथिका आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत हुने बताएका छन्।

साउदी अरब र हुथीबीच यमन युद्धलाई लिएर लामो समयदेखि द्वन्द्व जारी छ। सन् २०२२ मा भएको युद्धविराम भंग भएपछि पछिल्लो समय तनाव थप बढेको हो। हुथीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई चेतावनी दिँदै आएका छन्।

आक्रमणपछि रियादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थल तथा आसपासका क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। ऊर्जा तथा लगानीसम्बन्धी ठूला सम्मेलन आयोजना गर्ने तयारी भइरहेका बेला भएको घटनाले क्षेत्रीय सुरक्षा चिन्ता थप बढाएको छ।

Related Post