दिल्लीमा सीजेपीको प्रदर्शनअघि अभिजित दीपकेसहित सयौँ पक्राउ

10 October, 2026 115 Views
दिल्लीमा सीजेपीको प्रदर्शनअघि अभिजित दीपकेसहित सयौँ पक्राउ
115

काठमाडौं । भारतको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेसहित तीन नेतालाई दिल्ली विमानस्थलमा विमानभित्रैबाट नियन्त्रणमा लिइएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै जन्तरमन्तरमा आयोजना हुने प्रदर्शनमा सहभागी हुन उनीहरू दिल्ली पुगेका थिए ।

दीपकेसँगै आशुतोष रांका र सौरव दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । यसैगरी, युट्युबर ध्रुव राठीलाई गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिइएको छ । राजधानीका विभिन्न स्थानबाट सीजेपीका अन्य ६०० भन्दा बढी समर्थकलाई समेत प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।

प्रदर्शनमा सहभागी हुन जन्तरमन्तर जाँदै गरेका समर्थकलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । प्रदर्शन रोक्न राजधानीका सडकमा ब्यारिकेड राखिएको छ भने केही मेट्रो स्टेसनका प्रवेशद्वार बन्द गरिएका छन् ।

सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले प्रहरी आफ्नो घर पुगेको र आफू सवार कारलाई घेरा हालेको भिडियो सार्वजनिक गरेकी छन् । उनका अनुसार प्रहरीले माथिबाट आदेश आएको भन्दै आफूलाई घरमै बस्न भनेको थियो । कारमा आफू सहित तीन महिला रहेको उनले बताएकी छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा करिब ४३ हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । नयाँ दिल्ली क्षेत्रमा सभा तथा प्रदर्शन रोक्न शुक्रबार भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरिएको थियो ।

यसअघि ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्ने र दुई प्रमुख रेल स्टेसनमा सेवा रोक्ने आदेश दिइएको थियो । तर, भारतको सर्वोच्च अदालतले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको समाचारमा उल्लेख छ ।

सीजेपीले गर्न लागेको प्रदर्शनलाई यसअघि भएको ‘ककरोच आन्दोलन’को दोस्रो चरणका रूपमा हेरिएको छ । परीक्षामा अनियमितताको विरोधमा भएको पहिलो आन्दोलनपछि भारतका शिक्षा मन्त्रीले राजीनामा दिएको समाचारमा उल्लेख छ ।

यसैबीच, राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएका छन् । विपक्षी दल तथा आलोचकहरूले मतदाता नामावलीबाट करोडौँ मतदाताको नाम हटाएर भारतीय जनता पार्टी (भाजपा) लाई लाभ पुर्‍याउन खोजिएको आरोप लगाउँदै आएका छन् । भाजपाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

Related Post