सहकारी तथा लघुवित्तपीडितले संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराए

18 August, 2026 6 Views
सहकारी तथा लघुवित्तपीडितले संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराए
6

काठमाडौं । सहकारी तथा लघुवित्तपीडितले आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब बढाउँदै संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराएका छन्। पाँच दिनदेखि पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा धर्नामा रहेका उनीहरूले सरकारले आफ्ना समस्या बेवास्ता गरेको गुनासो गरेका छन्।

नागरिक बचाऔँ महाअभियानको नेतृत्वमा धर्नामा बसेका पीडितहरूले आन्दोलनस्थलबाटै प्लेकार्डमार्फत संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन्।

पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि उनीहरूले आयोगको कार्यालयबाहिर धर्ना सुरु गरेका हुन्।

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने पीडितहरूको भनाइ छ।

Related Post