सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी खुल्दा लेदोसहितको बाढी आएको सेनाको प्रारम्भिक निष्कर्ष

11 October, 2026 92 Views
सुक्खा पहिरोले थुनिएको बूढीगण्डकी खुल्दा लेदोसहितको बाढी आएको सेनाको प्रारम्भिक निष्कर्ष
92

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढी सुक्खा पहिरोका कारण नदीको बहाव थुनिएर पछि खुलेपछि आएको हुन सक्ने नेपाली सेनाले जनाएको छ । सेनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीका आधारमा यस्तो प्रारम्भिक अनुमान गरिएको हो ।

सेनाका अनुसार आइतबार बिहान ५ः५५ बजे बूढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो । त्यसपछि गोरखामा तैनाथ रुद्रध्वज गणको सुरक्षा पोस्ट बाङ्गसिङबाट बिहान सवा ६ बजे रेकी टोली खटाइएको थियो । टोलीले चुमनुब्री गाउँपालिका–३ को फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि गरेको थियो ।

पहिरोले नदीको बहाव रोकेको र थुनिएको पानी एक्कासि खुलेपछि माटो तथा गेग्रानसहितको बाढी आएको हुन सक्ने सेनाको प्रारम्भिक निष्कर्ष छ । यद्यपि, बाढी आउनुको वास्तविक कारण भने पुष्टि भइसकेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बूढीगण्डकीमा आएको बाढीको प्रकृति गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीसँग मिल्दोजुल्दो देखिएको छ । तर, दुवै बाढीको उत्पत्तिको कारण एउटै हो भन्ने निष्कर्षमा पुग्न नसकिएको उनले बताएका छन् ।

बाढीको वास्तविक कारण पत्ता लगाउन ड्रोनसहितको टोली बूढीगण्डकीको माथिल्लो क्षेत्रमा परिचालन गरिएको उप्रेतीले जानकारी दिएका छन् । माथिल्लो क्षेत्रको हवाई तस्बिरमा साँघुरो खोँचमा गेग्रान बगेको र आसपासमा पहिरो गएको हुन सक्ने संकेत देखिएको छ । यसबारे थप अध्ययन भइरहेको छ ।

गत भदौमा रसुवा–भोटेकोशी क्षेत्रमा तिब्बततर्फ हिमनदीको ठूलो भाग खसेपछि बाढी आएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो । उक्त घटनामा ठूलो मानवीय क्षति भएको थियो । बूढीगण्डकीमा आएको बाढीबाट भने हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । तर, भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको छ ।

पुल, घर र जलविद्युत् आयोजनामा क्षति

बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, आरुघाट हुँदै गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भागसमेत बगेको छ ।

बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका आठदेखि १० वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

प्रारम्भिक विवरणअनुसार एउटा कच्ची घर बगेको, आठवटा घर र आठवटा टहरामा बाढी पसेको तथा २२ वटा घर जोखिममा परेका छन् । क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी छ ।

जोखिममा परेका ६ जनाको हवाई उद्धार

बाढीपछि पहिरोको जोखिममा रहेका चुमनुब्री गाउँपालिका–३ को जगत क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत छ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार तथा खोजी कार्यका लागि सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । बूढीगण्डकीको बहाव र माथिल्लो क्षेत्रमा पहिरोको अवस्थाबारे निगरानीसमेत जारी राखिएको छ ।

बाढीको उद्गम, नदी थुनिएको अवस्था र भौतिक क्षतिको यकिन विवरण भने थप अध्ययन तथा स्थलगत निरीक्षणपछि मात्र स्पष्ट हुने देखिएको छ ।

Related Post