सल्यानमा जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

12 August, 2026 9 Views
सल्यानमा जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते
9

काठमाडौं । सल्यानमा यात्रु बोकेको जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका–१ स्थित बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप सडकबाट अनियन्त्रित भएर नदीमा खसेको हो। दुर्घटनामा जिप चालक र जिपधनी नदीमा बेपत्ता भएको बताइएको छ। उनीहरूको नाम तथा पहिचान भने अझै खुल्न सकेको छैन।

सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बेपत्ता भएका दुई जनाको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ। नदीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्यमा चुनौती भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाको ठ्याक्कै कारण भने खुलिसकेको छैन।

Related Post