सामाजिक सञ्जालमा गाली र मानहानि गरे कानुनी कारबाही

11 August, 2026 6 Views
सामाजिक सञ्जालमा गाली र मानहानि गरे कानुनी कारबाही
6

काठमाडौं । सामाजिक सञ्जालमा कसैलाई गाली गर्ने, आधारहीन आरोप लगाउने वा प्रतिष्ठामा आँच पुग्ने सामग्री फैलाए कानुनी कारबाही हुने सरकारले स्पष्ट पारेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानमार्फत गाली र बेइज्जतीसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएको हो।

मन्त्रालयका अनुसार कसैलाई होच्याउने उद्देश्यले अपमानजनक शब्द प्रयोग गर्नु गाली हो भने व्यक्तिको इज्जत, चरित्र वा प्रतिष्ठामा असर पर्ने गरी आरोप लगाउनु वा त्यस्तो सामग्री फैलाउनु बेइज्जती मानिन्छ।

सामाजिक सञ्जाल, सार्वजनिक स्थान वा अन्य माध्यमबाट गरिने यस्ता गतिविधि कानुनी कसूर हुन सक्ने मन्त्रालयले जनाएको छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ देखि ३०८ सम्म गाली र बेइज्जतीसम्बन्धी कानुनी व्यवस्था रहेको छ। कसूरको प्रकृति हेरेर सजाय र जरिबाना हुन सक्ने मन्त्रालयले जनाएको छ।

सरकारले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको सम्मान, प्रतिष्ठा र मर्यादामा असर नपर्ने गरी सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ।

Related Post