समान स्टाइपेन्डको माग गर्दै इन्टर्न चिकित्सक आमरण अनसनमा

04 August, 2026 110 Views
समान स्टाइपेन्डको माग गर्दै इन्टर्न चिकित्सक आमरण अनसनमा
110

काठमाडौं।सरकारी र निजी शिक्षण अस्पतालमा कार्यरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई समान स्टाइपेन्ड उपलब्ध गराउन माग गर्दै आन्दोलनरत इन्टर्न चिकित्सकले आजदेखि आमरण अनसन सुरु गरेका छन्।

‘एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान’का संयोजक डिल्ली हरिजनले मंगलबार बिहान १० बजेर २५ मिनेटदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका हुन्। सरकारसँग पटक–पटक माग राख्दा पनि कुनै ठोस निर्णय नभएकाले बाध्य भएर अनसनमा बस्नुपरेको उनले बताएका छन्।

हरिजनका अनुसार सरकारी शिक्षण अस्पतालमा इन्टर्न चिकित्सकले स्वास्थ्य सेवा आठौँ तहका अधिकृतको तलबको ५० प्रतिशत बराबर निर्वाह भत्ता पाउने व्यवस्था छ। तर निजी शिक्षण अस्पतालमा २४ घण्टासम्म ड्युटी गर्दा पनि मासिक करिब १० हजार रुपैयाँ मात्रै स्टाइपेन्ड पाउने गरिएको छ। यही असमानता अन्त्य गरी ‘समान कामको समान स्टाइपेन्ड’ लागू गर्न उनीहरूको मुख्य माग रहेको छ।

उनले इन्टर्न चिकित्सकहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि माग सम्बोधन हुन नसकेको गुनासो गरेका छन्। उनका अनुसार सरकारले अध्ययनका लागि कार्यदल गठन गरी प्रतिवेदन तयार पारेको थियो। तर प्रतिवेदन सार्वजनिक भएको करिब ८० दिन बितिसक्दा पनि कुनै नीतिगत निर्णय भएको छैन।

हरिजनले चिकित्सा शिक्षा आयोगको बैठक पटक–पटक बसे पनि इन्टर्न चिकित्सकको मागबारे प्रभावकारी छलफल नभएको आरोप लगाएका छन्। निजी मेडिकल कलेजहरूको प्रभावका कारण निर्णयमा ढिलाइ भइरहेको हो कि भन्ने आशंका पनि उनले व्यक्त गरेका छन्।

इन्टर्न चिकित्सकहरूले सरकारले आफ्नो माग तत्काल सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

 
 
 
 

Related Post