59
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि म्याद थप गर्न आज (सोमबार) विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई हिरासतमा राख्ने म्याद थपको स्वीकृतिका लागि विशेष अदालत पुर्याएको हो।
यसअघि असार ८ गते सुर्खेतबाट जरुरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लिइएका पौडेललाई विशेष अदालतले सुरुमा सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त पहिलो म्याद सकिएसँगै अनुसन्धान प्रक्रिया नसकिएकाले विभागले थप समय माग गर्दै उनलाई पुनः इजलासमा पेस गरेको हो।
विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दा र शङ्कास्पद सेयर कारोबारको सिलसिलामा नाम जोडिएपछि विभागले पौडेलमाथि गम्भीर छानबिन अघि बढाएको छ।देशमा सुशासन कायम गर्ने र पूर्वप्रशासक तथा राजनीतिज्ञहरूको अकुत सम्पत्ति छानबिन गर्ने सरकारी अभियान अन्तर्गत यो उच्च तहको पक्राउ र कानुनी कारबाही अघि बढेको हो।
पौडेल पक्षका कानुन व्यवसायीहरूले यसलाई राजनीतिक प्रतिशोध भन्दै आएका भए पनि विभागले भने व्यवसायीहरूको बयान र प्राप्त कागजी प्रमाणका आधारमा न्यायिक हिरासतमा राखेरै बयान र प्रमाण सङ्कलनको कामलाई निरन्तरता दिइरहेको छ।