काठमाडौं । गत वर्ष दशैंको अवसर प्रदर्शन भएको चलचित्र १२ गाँउबाट अभिनेता समीर भट्टले चलचित्र क्षेत्रमा प्रवेश गरे। उक्त् चलचित्रले घरेलु बक्स अफिसमा २० करोड हाराहारी ग्रस कलेक्सन गर्यो । अभिनेता विराज भट्ट पुत्र समीर रातारात स्टार बने ।
अहिले उनै समीरको दोस्रो चलचित्र ‘बलिदान’ यही फूलपातीबाट प्रदर्शनमा आउँदैछ । फूलपातीमा ‘बलिदान’को अलवा ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ समेत प्रदर्शन हुँदैछन् । तीनैवटा चलचित्रले अहिले व्यापक रुपमा प्रचारप्रसार गरिरहेको छ ।
तर, अभिनेता समीर भने अहिलेसम्म प्रचारप्रसारमा निस्किएका छैनन् । आफ्नै चलचित्रको प्रचारप्रसारमा किन निस्किएका छैनन् त समीर रु समीर निकट स्रोतका अनुसार यसपटक समीर कुनै पनि मिडियालाई सिंगल अन्तर्वार्ता दिने मनस्थितिमै छैनन् । स्रोतले भने, ‘एउटा मिडियालाई दिएपछि अरु मिडियालाई पनि अन्तर्वार्ता दिएर हिँड्नुपर्छ । नत्र उनीहरु रिसाउँछन् । कसैलाई खुसी र कसैलाई दुखी बनाउनुभन्दा अन्तर्वार्ता नै नदिँदा ठिक हुने मनस्थितिमा उहाँ हुनुहुन्छ ।’
स्वभावले रिजर्भ बस्न रुचाउने समीर मिडियामा एकदमै पातलो रुपमा देखिने गरेका छन् । अहिलेसम्म समीरको एकाँध अन्तर्वार्ता मात्रै सार्वजनिक भएका छन् । यसपटक मिडियालाई अन्तर्वार्ता नदिनुको पछाडि सायद जिब्रो चिप्लिएर विवादमा परिन्छ कि भन्ने पनि हुनसक्छ । अनेक खालका प्रश्नहरुको सामना गर्नुपर्दा धेरै कलाकारहरु जानअन्जानमा विवादमा फसेका उदाहरण प्रशस्तै छन् । यही कारण समीरले अन्तर्वार्ता दिनमा रुचि नदेखाएको हुनसक्छ ।
आज आईएनआई सिनेम, ल्होत्से मलमा ‘बलिदान’को टिमले पत्रकार भेटघाटको आयोजना गरेको थियो तर यस फिल्मको निर्माता सन्तोश सेन देश बाहिर रहेको कारण स्थगित भएको छ। उनका अनुसार अब २ दिनपछी अन्य कलाकारहरुसँग समीर भट्ट पनि उपस्थित हुने बताइएको छ ।