काठमाडौं । ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको प्रतिभा, व्यक्तित्व र आत्मविश्वास विकास गर्ने उद्देश्यले सुनौलो संसार म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा ‘फेस अफ लिटिल स्टार २०८३–सिजन १’ आयोजना हुने भएको छ।
प्रतियोगितामा ७ देखि १२ वर्षसम्मका बालबालिकाले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। प्रतियोगिताका सहभागीलाई पर्सनालिटी डेभलपमेन्ट, डान्स तथा सिङ्गिङ, फेसन तथा र्याम्प वाक, अभिनय तथा अभिव्यक्ति, पब्लिक स्पिकिङ तथा कम्युनिकेशन स्किल्स, कन्फिडेन्स बिल्डिङ, लिडरसिप, ग्रुमिङ तथा सामाजिक शिष्टाचारलगायतका विषयमा प्रशिक्षण दिइनेछ।
सहभागी बालबालिकालाई विशेषज्ञ प्रशिक्षकमार्फत विभिन्न विधामा प्रशिक्षणसँगै ट्रेनिङ टी–सर्ट, प्रोफेसनल मेकअप तथा फोटोसुट, सिनेमाटिक भिडियो सुट तथा प्रमोसनल रिल, फिटनेस सेसन, टिम बिल्डिङ कार्यक्रम र सहभागिता प्रमाणपत्रसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र, स्यास तथा क्राउन/टोपी प्राप्त गर्नेछन्। विजेताका आमालाई पार्लर तथा बेकरी तालिम र बुवालाई फिटनेस एसेसमेन्ट (जिम/कार्डियो) को सुविधा प्रदान गरिनेछ।
त्यस्तै, प्रथम रनरअपले तीन जनाका लागि पोखरा–काठमाडौं दुईतर्फी हवाई टिकट, एक रातको आवास तथा खानाको सुविधा, ट्रफी, प्रमाणपत्र, स्यास र क्राउन/टोपी प्राप्त गर्नेछन्।
दोस्रो रनरअपले दुई जनाका लागि पोखरा–काठमाडौं दुईतर्फी हवाई टिकट, एक रातको आवास तथा खानाको सुविधा, ट्रफी, प्रमाणपत्र, स्यास र क्राउन/टोपी प्राप्त गर्नेछन्। दुवै रनरअपका अभिभावकलाई पनि पार्लर तथा बेकरी तालिम र फिटनेस एसेसमेन्टको सुविधा उपलब्ध गराइनेछ।
सुनौलो संसार म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष तथा कार्यक्रम संयोजक नारायण थापाले प्रतियोगिता बालबालिकाको प्रतिभा पहिचानसँगै उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, सिर्जनशीलता र व्यक्तित्व विकासका लागि महत्वपूर्ण मञ्च बन्ने बताए।
उनका अनुसार प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै उनीहरूमा सकारात्मक सोच, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सीप विकास गर्न सहयोग पुर्याउनेछ। प्रतियोगितालाई बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले विशेष कार्यक्रमका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।