दसैँ सकिएसँगै कोदो भित्र्याउने चटारो, खेतबारीमा व्यस्त किसान

25 October, 2026 57 Views
दसैँ सकिएसँगै कोदो भित्र्याउने चटारो, खेतबारीमा व्यस्त किसान
57

काठमाडौं । दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसानलाई कोदो भित्र्याउने चटारो परेको छ। असारको अन्तिमतिर रोपिएको कोदो पाकेपछि किसानहरू यतिबेला बाली टिप्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त भएका हुन्।

गाउँघरमा कोदो टिप्ने कामसँगै किसानले आगामी खेतीको तयारीसमेत थालेका छन्। कोदो भित्र्याएपछि खाली हुने खेतबारीमा तोरी छर्ने तयारी भइरहेको छ।

वर्षायाममा खेती गरिने कोदो नेपालको पहाडी क्षेत्रका किसानको प्रमुख खाद्यान्न बालीमध्ये एक हो। भिरालो जमिन र कम सिँचाइ भएको क्षेत्रमा समेत खेती गर्न सकिने भएकाले पहाडी भेगमा यसको खेती परम्परादेखि नै हुँदै आएको छ।

कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा दुई लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो। उक्त अवधिमा दुई लाख ८४ हजार ३५२ मेट्रिक टन कोदो उत्पादन भएको थियो।

गोरखासहित लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा र जुम्लालगायत जिल्लामा कोदो खेती गरिन्छ। स्थानीय किसानको खाद्यान्न आवश्यकतासँग जोडिएको यो बाली ग्रामीण जीवनशैली र परम्परागत कृषि प्रणालीको महत्त्वपूर्ण हिस्सा पनि हो।

कोदोबाट ढिँडो, रोटी, सातु र विभिन्न परिकार बनाइन्छ। पोषणयुक्त रैथाने खाद्यान्नका रूपमा चिनिने कोदोजन्य परिकारको माग पछिल्लो समय सहरी क्षेत्रमा समेत बढ्दै गएको छ।

यद्यपि, कोदो खेतीमा विभिन्न चुनौती देखिएका छन्। ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव, युवापुस्ताको खेतीप्रतिको घट्दो आकर्षण र उत्पादनको उचित बजार व्यवस्थापन हुन नसक्नु यस क्षेत्रका प्रमुख समस्या हुन्। स्वदेशमै कोदोको माग बढ्दै जाँदा पनि आयात गर्नुपर्ने अवस्था रहनुले यसको व्यावसायिक उत्पादन र बजारीकरणमा थप ध्यान दिनुपर्ने देखिन्छ।

स्थानीयस्तरमै उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता र आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्न सके कोदो खेती किसानको आयआर्जनको भरपर्दो माध्यम बन्न सक्छ। यसले परम्परागत खाद्य संस्कृतिको संरक्षणसँगै रैथाने बालीको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउन सक्छ।

Related Post