काठमाडौं । जीवनभर एकअर्काको सुख–दुःखका साथी बनेका एक वृद्ध दम्पती रहस्यमय रूपमा सुनकोशी नदीमा बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया क्यान्सरपीडित श्रीमती तीलकुमारी पराजुली बुधबार साँझदेखि सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार उनीहरू साउन २० गते साँझ करिब ५ बजे भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेको आशंका गरिएको छ।
घटनाअघि दम्पती आफैंले गाडी रिजर्भ गरेर दोलालघाट पुगेका थिए। त्यहाँबाट लामो समयदेखि बोन म्यारो क्यान्सरको उपचार गराइरहेकी अशक्त श्रीमतीलाई केदारनाथले आफ्नै पिठ्युँमा बोकेर नदीतर्फ गएको दृश्य बजार क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू नदीतर्फ गएको देखिए पनि हालसम्म दुवैको अवस्था अज्ञात छ।
सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरीको र्याफ्टिङ टोली र स्थानीयवासीले सुनकोशी नदी क्षेत्रमा तेमालबेसीसम्म व्यापक खोजी अभियान सञ्चालन गरिरहेका छन्। तर समाचार तयार पार्दासम्म दुवै फेला परेका छैनन्।
स्थानीय वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार पराजुली दम्पती छोरा, बुहारी र नातिनातिनीसँग बस्दै आएका मध्यमवर्गीय परिवारका सदस्य हुन्। परिवारमा कुनै ठूलो विवाद नरहेको र उपचार खर्च चुनौतीपूर्ण रहे पनि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
जीवनभर एकअर्काको सहारा बनेका दम्पतीको यस्तो रहस्यमय बेपत्ताले परिवार, आफन्त र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।