काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनापछि उत्पन्न असहज अवस्था, बढ्दो सामाजिक तथा धार्मिक तनाव र शान्ति–सद्भाव कायम गर्ने विषयमा साझा धारणा बनाउन बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी अधिकांश राजनीतिक दलका नेताहरूले शान्ति र सामाजिक सद्भाव कायम गर्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् भने सामूहिक अपिल जारी गर्ने विषयमा पनि सहमति जनाएका छन्।
बैठकका क्रममा विपक्षी दलका नेताहरूले सुनसरी घटनाको व्यवस्थापनमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियतामाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा यति संवेदनशील विषयमा सरकार स्वयंले सर्वदलीय संवादको पहल गर्नुपर्ने थियो, तर राजनीतिक दलहरूले पहल गर्नुपरेको अवस्था सिर्जना भएको छ। साथै, प्रधानमन्त्रीबाट समयमै सार्वजनिक धारणा नआउनु र गृहमन्त्री बैठकमा अनुपस्थित रहनुले सरकारको गम्भीरतामाथि प्रश्न उठेको उनीहरूको भनाइ थियो।
नेताहरूले घटनामा सुरक्षा निकायको भूमिकाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। भीड नियन्त्रणका क्रममा आवश्यकता भन्दा बढी बल प्रयोग भएको, पूर्वतयारी कमजोर रहेको तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन्। स्थानीय तहमा सर्वदलीय संवाद, शान्ति तथा सद्भाव र्याली सञ्चालन गर्नुपर्ने, पीडितलाई न्याय दिलाउनुपर्ने र दीर्घकालीन रूपमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने वातावरण निर्माण गर्न सरकार अग्रसर हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्। केही नेताहरूले घटनामा सम्भावित अतिवादी गतिविधि, ऐतिहासिक पृष्ठभूमि तथा बाह्य प्रभावसमेत निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने धारणा राखेका छन्।
यद्यपि, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि सरकारले घटनालाई गम्भीरतापूर्वक लिएको र बैठकबाट आएका सुझाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरिने बताएका छन्। लामिछानेले राजनीतिक दलहरूबीच साझा धारणा र प्रतिबद्धता झल्किने संयुक्त वक्तव्य जारी गर्दै शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा सबै दलले एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।