सुनसरी । सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको आरोपमा नेकपा एमालेका एक युवा नेता पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–निवासी विप्लव घोष रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घोष एमाले सुनसरीका युवा नेता भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार घोषले सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सामग्री पोस्ट गरेका थिए। ती सामग्रीले गलत सूचना, झुटा समाचार र अफवाह फैलाएको निष्कर्ष निकाल्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना र भ्रामक सामग्रीप्रति विशेष निगरानी बढाइएको जानकारी दिएको छ। निर्वाचनको संवेदनशील समयमा भ्रम फैलाउने कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्न सबैलाई सचेत गराइएको प्रहरीले जनाएको छ।
यसअघि रास्वपा सुनसरीले विप्लव घोषविरुद्ध कानुनी कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको थियो। विज्ञप्ति सार्वजनिक भएपछि घोषले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका थिए। तर पछि उक्त पोस्ट हटाउँदै ‘हाइकमाण्डको सल्लाहअनुसार’ पोस्ट डिलिट गरिएको उल्लेखसहित नयाँ स्ट्याटस लेखेका थिए। उक्त गतिविधिले थप शंका उत्पन्न भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउने जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ।