171
फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण तयार भएसँगै चर्चित फुटबल विश्लेषक संस्था ‘अप्टा सुपरकम्प्युटर’ ले फ्रान्सलाई उपाधि जित्ने सबैभन्दा बलियो दाबेदार र साविक विजेता अर्जेन्टिनालाई अन्तिम चारमध्ये सबैभन्दा कमजोर टोलीका रूपमा प्रक्षेपण गरेको छ।
क्वार्टरफाइनल खेलहरू सकिएपछि २५,००० भन्दा बढी पटक गरिएको डिजिटल सिमुलेसनका आधारमा अप्टाले फ्रान्सलाई विश्वकप जित्ने सर्वाधिक ३४.०५ प्रतिशत बलियो सम्भावनासहित शीर्ष स्थानमा राखेको छ, जबकि पहिलो सेमिफाइनलमा उसको प्रतिद्वन्द्वी युरोपेली च्याम्पियन स्पेन २३.४५ प्रतिशत सम्भावनाका साथ दोस्रो स्थानमा छ।
यस्तै, दोस्रो सेमिफाइनलमा भिड्न लागेका टोलीहरूमध्ये थोमस टुचेलको इङ्गल्याण्ड २१.९४ प्रतिशत सहित तेस्रो र फिफा वरीयताको शीर्ष स्थानमा रहेर पनि मैदानमा निकै संघर्ष गरिरहेको लियोनेल मेसीको अर्जेन्टिना २०.५५ प्रतिशत को न्यूनतम सम्भावनाका साथ चौथो स्थानमा खुम्चिएको विवरण उल्लेख छ।
अन्तर्राष्ट्रिय सट्टेबजार बुकमेटर्स हरूले सार्वजनिक गरेको पछिल्लो बेटिङ अड्स (Odds) मा पनि फ्रान्सलाई मुख्य दाबेदार मान्दै सबैभन्दा कम '+१५०' को मूल्य तोकिएको छ भने अर्जेन्टिनालाई सबैभन्दा बढी '+३६०' सम्मको मूल्य तोक्दै 'लङसट' जित्ने कम सम्भावना भएको टोलीका रूपमा राखिएको छ। क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले सहजै हराएर सन्तुलित खेल देखाएको र किलियान एम्बाप्पे उत्कृष्ट लयमा रहेकाले उसलाई बलियो मानिएको हो ।
अर्कोतर्फ, अर्जेन्टिनाले अल्जेरिया, इजिप्ट र केप भर्ड जस्ता कमजोर टोलीहरूसँग संघर्ष गरेको र क्वार्टरफाइनलमा पनि १० खेलाडीमा सीमित स्विट्जरल्याण्डविरुद्ध अतिरिक्त समयमा मात्र ३–१ को कठिन जित निकालेकाले उसलाई कमजोर दाबेदार मानिएको विश्लेषण गरिएको छ