सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू

09 October, 2025 78 Views
सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू
78

बेलग्रेड– महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि बिहीबारदेखि अमेरिकी प्रतिबन्ध औपचारिक रूपमा लागू भएको छ । यो कम्पनी देशको एकमात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रूसी ऊर्जा क्षेत्रमाथि नियन्त्रण कडाइ गर्न अमेरिकाले सर्बियाको पेट्रोलियम उद्योग एनआइएसलाई यस वर्षको जनवरीमा नै प्रतिबन्धको सूचीमा राखेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा केही समय ढिलाइ भएको थियो ।

कम्पनीका अनुसार बिहीबार बिहान ६ बजेदेखि अमेरिकी अर्थ मन्त्रालयले दिएको विशेष इजाजतपत्रको म्याद सकिएपछि प्रतिबन्ध पूर्ण रूपमा लागू भएको हो । एनआइएसले भनेको छ, ‘हामी यो अवस्थाबाट पार पाउन प्रयासरत छौँ र अमेरिकी अर्थ मन्त्रालयसँग मिलेर प्रतिबन्ध सूचीबाट हट्ने पहल गर्दैछौँ ।’

कम्पनीले हालका लागि प्रशोधनका लागि पर्याप्त कच्चा तेल भण्डारण भएको र पेट्रोल पम्पहरूमा सबै प्रकारका इन्धन उपलब्ध रहेको स्पष्ट पारेको छ । राष्ट्रपति अलेक्सान्डर भुसिकले सोमबार चेतावनी दिँदै प्रतिबन्धले गम्भीर असर पार्ने बताएका थिए । उनका अनुसार यसको सबैभन्दा पहिले असर बैंकिङ क्षेत्रमा देखिनेछ । उनले भनेका थिए, ‘संसारमा कुनै पनि बैंक अमेरिकाको प्रतिबन्ध उल्लङ्घन गर्ने जोखिम लिन तयार हुँदैन ।’

एनआइएसका अनुसार अब सर्बियाभित्रका पेट्रोल पम्पहरूले घरेलु कार्ड र नगद मात्र स्वीकार गर्नेछन् । विदेशी भुक्तानी कार्डहरूले ‘काम गर्न बन्द गर्ने’ अपेक्षा गरिएको छ । राष्ट्रपति भुसिकले कम्पनीको भविष्यबारे रुसका सेयरधनीहरूको सम्भावित विनिवेशबारे पनि वार्ता भइरहेको जानकारी दिए ।

बेलग्रेडका अर्थशास्त्री गोरान रादोसाभलजेभिकका अनुसार एनआइएसले सर्बियाको करिब ८० प्रतिशत डिजेल र पेट्रोल आपूर्ति गर्ने भएकाले प्रतिबन्धको असर व्यापक हुन सक्छ । उनका अनुसार वित्तीय संस्थाहरूले एनआइएससँग सबै कारोबार र सहयोग तुरुन्तै रोक्नुपर्नेछ, अन्यथा प्रतिबन्धित निकायसँग कारोबार गरेको बैंकको सूचीमा पर्ने जोखिम रहन्छ ।

Related Post