काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजीक्षेत्रबीच नीतिगत आत्मविश्वास, स्पष्टता र प्रभावकारी समन्वय हुन सके नेपालको आर्थिक रूपान्तरणले तीव्र गति लिने बताएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार आयोजित अन्तरसंस्थागत समन्वय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अघि सारेको आर्थिक सुधार र संरचनागत रूपान्तरणको कार्ययोजनालाई सफल बनाउन राष्ट्र बैंकले पनि आफ्नो नीतिगत भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताए।
उनले हालै उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको छलफलमा निजीक्षेत्रले सहुलियतभन्दा बढी स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको जानकारी दिए। लगानीको वातावरण सुधार गर्न सरकार, राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजीक्षेत्रबीच विश्वास र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले विगतका धेरै नीतिगत निर्णय कार्यान्वयनमा कमजोर हुँदा निजीक्षेत्रको लगानी आत्मविश्वास घटेको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि उत्पादनशील क्षेत्रमा अपेक्षाअनुसार कर्जा प्रवाह हुन नसकेको तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बनेको बताए। यी विषयको गम्भीर समीक्षा गर्दै समाधानमुखी नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
उनले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउने, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीसँग कसरी जोड्ने, पुँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध कसरी स्थापना गर्ने तथा मौद्रिक र वित्तीय नीतिबीचको समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा खुला छलफल गर्न आग्रह गरे।
त्यस्तै, डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणलाई प्रोत्साहन गर्ने गरी नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले नियमनको उद्देश्य नियन्त्रणमा मात्र सीमित नभई उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रवर्द्धन गर्नु पनि हुनुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले नियामक निकायले जोखिम व्यवस्थापनसँगै अवसर सिर्जनालाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्दै “यो सम्भव छैन” भन्ने सोचभन्दा “यसलाई सम्भव बनाउन के गर्नुपर्छ ?” भन्ने दृष्टिकोणबाट नीति निर्माण र कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए।
उनले सरकारले आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र बजेटमा घोषणा गरिएका आर्थिक सुधारलाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मौद्रिक पक्षबाट पनि त्यही स्तरको स्पष्टता, प्रतिबद्धता र गति आवश्यक रहेको बताए। नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
बैठकमा उठेका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने, आवश्यक परे संयुक्त कार्यदल गठन गरिने तथा सरकार र नेपाल राष्ट्र बैंकबीचको नीतिगत समन्वयलाई संस्थागत बनाइने पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए।
उनले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजीक्षेत्र एउटै दिशामा अघि बढे आर्थिक रूपान्तरणको लक्ष्य व्यवहारमै उतार्न सकिने विश्वास व्यक्त गर्दै अहिले नेपालको अर्थतन्त्रलाई सबैभन्दा बढी आवश्यक नीतिगत आत्मविश्वास भएको उल्लेख गरे।