सरकारकै अनुमतिमा दलाई लामाको जन्मोत्सव मनाइएको भन्दै नारायणकाजी श्रेष्ठको कडा आपत्ति

09 July, 2026 41 Views
सरकारकै अनुमतिमा दलाई लामाको जन्मोत्सव मनाइएको भन्दै नारायणकाजी श्रेष्ठको कडा आपत्ति
41
काठमाडौँ। पूर्वपरराष्ट्रमन्त्री एवं नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपाल सरकारको औपचारिक अनुमतिमा तिब्बती आध्यात्मिक धर्मगुरु दलाई लामाको जन्मोत्सव काठमाडौँमा मनाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। 
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता श्रेष्ठले हालै काठमाडौँको नामग्याल विद्यालयमा दलाई लामाको जन्मोत्सव विशेष समारोहका साथ मनाइनु र त्यसमा पश्चिमा कूटनीतिज्ञहरूको उपस्थिति हुनु सामान्य घटना नभएको बताएका हुन्।  
उनले यो कदमबाट वर्तमान सरकार नेपालको लामो समयदेखिको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिबाट गम्भीर रूपमा विचलित हुन खोजेको र यसले नेपालको भूराजनीतिक सन्तुलनमा खलल पुर्‍याउने आशंका व्यक्त गरेका छन्। 
नेता श्रेष्ठले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा चलिरहेको समयमा सरकारी अनुमतिमै यस्ता गतिविधि हुनुले कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्न खोजिएको दाबी गर्दै सरकारलाई सचेत रहन चेतावनी दिएका छन्। 
यसै सन्दर्भमा चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले समेत संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागिताप्रति आपत्ति जनाउँदै नेपालले अंगीकार गर्दै आएको 'एक चीन नीति' विपरीतका यस्ता गतिविधि निन्दनीय रहेको बताएका छन्।
श्रेष्ठले सरकारको यस्तो कार्यशैलीले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर संकटमा धकेल्ने भन्दै परराष्ट्र नीतिमा आँच आउने काम तुरुन्त रोक्न र देशभक्त नेपालीहरूबाट यसको सशक्त प्रतिरोध हुन सक्ने चेतावनी समेत दिएका छन्।

Related Post