असोज, काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) का महासचिव दीपक धामीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधपूर्वक पक्राउ गर्ने प्रयास गरियो भने, सरकारले पहिले नै साढे ६ लाख एमाले कार्यकर्तालाई राख्न जेल तयार गर्नुपर्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा धामीले भने, “देशमा विभिन्न आन्दोलन भएका छन्। पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा पनि धेरै मानिस मारिए। अब त उनलाई पनि पक्रेर जेल हाल्ने हो ररु यदि अहिले ओलीज्यूलाई पनि त्यस्तै बहानामा कारबाही गर्ने हो भने, सरकारले जेल विस्तार गर्नुपर्छ। एमालेका साढे ६ लाख कार्यकर्ता त्यसको प्रतिवादमा उभिनेछन्।”
धामीले हालैको जेन–जी आन्दोलन र त्यसपछिका हिंसात्मक गतिविधिका सन्दर्भमा बालेन्द्र शाह र सुधन गुरुङविरुद्ध अखिलले दिएको जाहेरीलाई औचित्यपूर्ण ठहर गर्दै भने, “हामीले दिएको जाहेरी कुनै काउन्टर होइन। यो विधिको शासनको सन्दर्भमा अराजकता र हिंसामा संलग्नहरूलाई कानुनी प्रक्रियामा ल्याउने प्रयास हो।”
उनका अनुसार, शाह र गुरुङको भडकाउने अभिव्यक्ति र गोप्य बैठकहरूकै कारण देशभर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको हो। “हामीले ती सबै प्रमाणहरू प्रहरीलाई बुझाइसकेका छौं,” उनले भने।
धामीले सरकारलाई सचेत गराउँदै भने, “राजनीतिक प्रतिशोध र व्यक्तिगत बदला लिने प्रवृत्ति लोकतन्त्रको अपमान हो। ओलीलाई गिरफ्तार गर्न खोज्नेहरूले पहिले विधिको मूल्य र राजनीतिक स्थायित्व बुझ्नुपर्छ।” उनको भनाइपछि राजनीतिक वृत्तमा प्रतिक्रिया सुरु भएको छ। एमालेका निकट वृत्तहरूले यसलाई सरकारलाई दिएको कडा राजनीतिक सन्देशको रूपमा लिएका छन्, जबकि अन्य पक्षहरूले यस वक्तव्यलाई राजनीतिक दबाब सिर्जना गर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्।