सरकारविरुद्ध बोल्ने डरले दुर्गा प्रसाईंमाथि लगाम, विमानस्थल ओर्लनासाथ नियन्त्रणमा लिएर सिधै घर पुर्‍याइयो

12 July, 2026 65 Views
सरकारविरुद्ध बोल्ने डरले दुर्गा प्रसाईंमाथि लगाम, विमानस्थल ओर्लनासाथ नियन्त्रणमा लिएर सिधै घर पुर्‍याइयो
65
काठमाडौँ । 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा ओर्लनासाथ प्रहरीले नियन्त्रणमा लिएर सिधै उनको भक्तपुरस्थित निवास पुर्‍याएको छ।
गृहजिल्ला झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थल परिसरमै समसामयिक राजनीतिक घटनाक्रम, सुकुम्वासी समस्या र मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर सरकारको कार्यशैलीविरुद्ध कडा आलोचनासहित विशेष सम्बोधन तथा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। तर, उनी सञ्चारकर्मीहरूसँग बोल्न नपाउँदै काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएर आफ्नै गाडीमा हाली ठिमी स्थित निवास पुर्‍याएर छाडेका छन्।
पछिल्लो समय काठमाडौँ महानगर र केन्द्र सरकारमाथि चौतर्फी जनआक्रोश र आलोचना बढिरहेका बेला प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएर माहोल थप भड्काउन सक्ने 'डरले' प्रहरीले बोल्नु अगावै यो कदम चालेको विश्लेषण गरिएको छ। 
यद्यपि, जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जिल्ला सुरक्षा समितिले विमानस्थललाई संवेदनशील तथा निषेधित क्षेत्र घोषणा गरेकाले त्यहाँ कुनै पनि प्रकारको सभा, प्रदर्शन वा पत्रकार सम्मेलन गर्न नपाइने नियमका कारण उनलाई सुरक्षा घेरामा राखेर हटाइएको दाबी गरिएको छ।
 विमानस्थलको गोल्डेन गेटमै सञ्चारकर्मी तथा युट्युबरहरूलाई समेत रोकेर प्रसाईंलाई सिधै घर पुर्‍याइएपछि आयोजित पत्रकार सम्मेलनमा उनले यो सरकार सर्वहारा र नेपालीहरूको नभएको भन्दै राज्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप र दमन गरेको आरोप लगाएका छन्।

Related Post