संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई सभामुखको आग्रह, एकजना मात्रै बोल्ने प्रस्ताव अस्वीकृत

09 July, 2026 44 Views
संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई सभामुखको आग्रह, एकजना मात्रै बोल्ने प्रस्ताव अस्वीकृत
44
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा लगातार भइरहेको अवरोधप्रति संकेत गर्दै विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई कडा आग्रह गरेका छन्। 
प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल-भारत सीमा विवादबारे संसद्‍मा दिएको अभिव्यक्ति त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सदनमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने माग राखेर विपक्षी दलहरूले विगत ४० दिनदेखि निरन्तर संसद् बैठकको सुरुमै उठेर विरोध जनाउँदै आएका छन्। 
बिहीबारको बैठकमा पनि सोही मुद्दामा सबै विपक्षी दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख अर्यालले विषयवस्तु एउटै भएकाले सभालाई मर्यादित बनाउन र समयको बचत गर्न विपक्षी दलहरूको तर्फबाट संयुक्त रूपमा एक जनाले मात्रै कुरा राखेर दैनिक कार्यसूची अगाडि बढाउने प्रस्ताव गरेका थिए।
तर, सभामुखको उक्त प्रस्तावमा प्रतिपक्षी दलहरू सहमत भएनन् र उनीहरूले आफ्ना सबै दलका प्रतिनिधिले बोल्न पाउनुपर्ने भन्दै विरोध जारी राखे।विपक्षीको तर्फबाट नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले मात्र बोलिसकेको अवस्थामा अन्य सांसदले पनि दबाब दिएपछि सभामुखले संसद्को समय र मर्यादाको ख्याल गर्न सचेत गराएका हुन्।
'कुन विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन' भन्दै सभामुख अर्यालले जुन विषयवस्तुका लागि विरोध सुरु गरिएको हो, त्यसैभित्र रहेर आफ्ना भनाइ राख्दा मात्रै त्यसको औचित्य पुष्टि हुने धारणा व्यक्त गरे।
 विपक्षीहरूको अडानका कारण केही समय तनाबपूर्ण बने पनि सबै दलका मुख्य सचेतक वा सांसदहरूले पालैपालो आ-आफ्नो धारणा राखेपछि मात्र सदनको दैनिक कार्यसूची अगाडि बढेको थियो।

Related Post